नयाँ सरकार गठनका विषयमा मधेसवादी दलहरुले राखेका मुद्दालाई संबोधन गर्ने प्रतिवद्धतासहित एकीकृत नेकपा माओवादीले लिखित जवाफ पठाउने निर्णय गरेको छ । बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारीहरुको बैठकले मधेसी मोर्चाले राखेका मागहरु सकारात्मक भएको भन्दै मधेसका मुद्दामा सहमति जनाउने निर्णय गरेको हो । बहुमतको सरकार गठनका लागि महत्वपूर्ण मानिएका मधेसवादी दलहरुलाई आफ्नो पक्षमा पार्न माओवादीले लिखित प्रतिवद्धता जनाउने निर्णय गरेको हो । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले मधेसवादी दललाई लिखित जवाफ पठाउने तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले आज मधेसवादी दलहरुसँगको छलफलमा लिखित प्रतिवद्धता प्रस्तुत गरिने र छलफल हुन नसकेमा पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने पनि बताउनुभयो । एक मधेस एक प्रदेशका बारेमा के गर्ने भन्ने विषयमा भने माओवादीले केही पनि बताएको छैन । नेकपा एमालेले भने बहुमतको सरकारलाई समर्थन नगर्न मधेसवादी दलहरुलाई पत्र पठाइसकेको छ । पहिलो र दोस्रो चरणमा कसैको पक्षमा बहुमत नपुगेपछि १७ गते प्रधानमन्त्री छान्नका लागि व्यवस्थापिका संसदमा तेस्रो पटक चुनावको मिति तोकिएको छ ।